संघीय नेपालको वर्तमान राजनैतिक संरचनामा तीन तहको सरकार (सघं, प्रदेश र स्थानीय तह) कार्यान्यवनमा रहेका छन । यी तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका छन् । तीन वटै सरकारका आ-आफ्नै कृषि विकासका योजना र कार्यक्रम रहेका छन् ।

यसै अनुरुप कोशी प्रदेश सरकारको मातहतमा रहने गरी सरकारले साबिकको जिल्ला कृषि विकास कार्यालयलाई प्रतिस्थापन गरी वि.स. २०७५ सालमा विल्कुलै नयाँ संरचनामा आधारित कृषि ज्ञान केन्द्रको स्थापना गर्ने निर्णय गर्‍यो । सोही अन्तर्गत कोशी प्रदेश सरकारको मातहतमा रहने गरी कृषि ज्ञान केन्द्र, इलामको स्थापना भएको हो । यस कृषि ज्ञान केन्द्रको साबिकको जिल्ला कृषि विकास कार्यालयको भन्दा फरक सांगठनिक संरचना र कार्य विवरण रहेको छ । इलाम जिल्ला कार्य क्षेत्र रहेको यस कृषि ज्ञान केन्द्रको कार्यालय इलाम सदरमुकाम (इलाम नगरपालिका वडा नं- ९) मा रहेको छ । यस कार्यालयले मुख्य गरी प्रदेश मन्त्रालय मार्फत संचालन हुने कृषि विकासका विभिन्न कार्यक्रम तथा आयोजनाहरू संचालन गर्ने गरेको छ । स्थानीय तह तथा संघीय सरकारका कृषि कार्यक्रम कार्यान्वयन गर्ने निकाय एवं गैरसरकारी संस्थाहरूसँग समेत सहकार्य गर्दै यस कार्यालयले आफ्ना नियमित कृयाकलापहरू सञ्चालन गर्दै आइरहेको छ ।